काठमाडौं । रुकुम पश्चिममा विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुन मगर मृत भेटिएका हुन् ।
प्रहरी स्रोतका अनुसार सपना पुन सोही गाउँपालिका–६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा दुवै जना मृत भेटिएका प्रहरीको भनाइ छ । लोकेन्द्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।
प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो । प्रहरीले आमाबुवा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया शुरु गरेर घटनाको थप अनुसन्धान गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया