काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभइ पार्टीको रुपमा आफ्ना धारण राख्न निर्देशन दिएका जानकारी दिए । बैठकमा मन्त्रीहरुले सरकारमा भएका काम, कारबाहीबारे जानकारी गराएका पनि घिमिरेले बताए ।
प्रमुख सचेतक घिमिरेका अनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भएको छ । नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको घिमिरेले बताए । बैठकमा आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले बताएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराएका बताए । महतले विचाराधीन विधेयक संसदबाट छिटो पारित गर्नेबारेमा छलफल भएको पनि बताए ।
प्रतिक्रिया