काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले राम्रो काम गरेर देखाउने बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन् ।
‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु,’ थापाले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्नसक्छु ।’
अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको उनले बताए । ‘त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेर फाल्नु हुँदैन,’ थापाले भनेका छन् ।


प्रतिक्रिया