रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश



बुटवल । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बुटवलकाे सुप्रिम सहकारी प्रकरणमा न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको हो ।

जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो । कार्यविधि संहिता बमोजिम एक करोड धरौटी बैंक ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको अदालतले जनाएको छ ।

सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगायतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलले अभियोग पत्रमा जिकिर गरेको थियो ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।