काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १५ वटा निर्णय गर्दै सकिएको छ । धुम्बाराहीमा माघ ११ गतेदेखि चलेको केन्द्रीय समिति बैठक आइतबार साँझ सकिएको हो ।
बैठकले आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सात बुँदे सहमतिमार्फत गठन भएको एमाले-कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल भएको राप्रपाको आरोप छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको १६ बुँदे बक्तव्यका अधिकांश बुँदा सरकार असफल रहेको पुष्टि गर्न खर्चिएको छ । ‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ’, वक्तव्यमा लेखिएको छ ।
प्रतिक्रिया