कास्की जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे रवि

कास्की जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे रवि



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पुगेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन् ।

उच्च अदालत पोखरामा अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाले जनाएको छ । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।

पुस २५ गते कास्की जिल्ला अदालतले थुनछेक सम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेको थियो । कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सो आदेशको चित्त नबुझी साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछाने उच्च अदालत पोखरामा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गर्ने तयारी छ । ती अदालतहरूले दिएको आदेशमा पनि उनी असन्तुष्ट छन् । काठमाडौंले ६० लाख रुपैयाँ र रुपन्देहीले १ करोड धरौटी मागेको थियो ।