काठमाडौं । दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली पाकिस्तानलाई १ सय २० रनले हराएको छ ।
वेस्ट इन्जिले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको पाकिस्तान तेस्रो दिनको खाना समयअघि नै १ सय ३३ रनमा अलआउट भयो । दोस्रो पारीमा पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ३१ रन बनाए । वेस्ट इन्डिजका जोमेल वारीकनले ५ विकेट लिए ।
वेस्ट इन्डिजले दोस्रो पारीमा २ सय ४४ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान क्रेग ब्राथवेटले ५२ रन बनाए । पाकिस्तानका साजिद खानले ४ विकेट लिए ।
यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो पारीमा १ सय ६३ रन र पाकिस्तानले पहिलो पारीमा १ सय ५४ रन बनाएको थियो । योसँगै २ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल पाकिस्तानले १ सय २७ रनले जितेको थियो ।
वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जितेको हो । यसअघि वेस्ट इन्डिजले सन् १९९० मा पाकिस्तानमा टेस्ट क्रिकेट जितेको थियो ।
प्रतिक्रिया