अब ०६४ को जमाना छैन : प्रधानमन्त्री ओली

अब ०६४ को जमाना छैन : प्रधानमन्त्री ओली

‘मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्, उनीहरूको आशा पुग्नेवाला छैन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउँदै अब ०६४ को जमाना नरहेकाे बताएका छन् ।

गत शुक्रबार प्रचण्डले दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै भोट दिन आग्रह गरेका थिए ।

उक्त भनाइलाई ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादीले ०६४ मा जनताले त्रासमा भाेट हालेकाे दाबी गरेका छन् ।

‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले,’ प्रचण्डको नाम नलिइ ओलीले भनेका छन्, ‘ए जमाना गयो त्यो । क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सोझा जनतालाई दुर्बिनले हेर्‍या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’

उनले ०६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गरे । ‘उनीहरूका मान्छे मतपत्रमा छाप लगाएकै ठाउँबाट हेर्थे । म लगाइदिन्छु भनेर समेत भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो । त्यो जमाना अब छैन । गयो त्यो जमाना,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले रुघा लागेर हाच्छ्यूँ गर्दा अक्सिजन लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाउनेहरूलाई पनि जवाफ फर्काएका छन् । केही दिनयता आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको विरोध र टिप्पणीलाई लक्षित गर्दै उनले फोटो राख्नेहरूको आशा नपुग्ने बताए ।

उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला । मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।’

प्रधानमन्त्री ओलीले देश अप्ठ्यारो स्थितिमा पुगेपछि कांग्रेससँग मिलेर सरकार बनाएको बताए । उनले भने, ‘देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा पुगेपछि प्रतिस्पर्धी दलहरू मिलेका हौं ।’

उनले देश तमासाजस्तो भएको टिप्पणी गरे । उनले भने, ‘देश बनाउने कुरा कुनै ख्यालठट्टा होइन । मजाकको कुरा हो र ? देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने, लोकतन्त्रलाई सुदृण गर्नको लागि मिलेका हौं । आजै ढल्छ भोलि बिहान सरकार ढल्छ भन्नेर गरेको बिलौनाको कुनै अर्थ छैन ।’

उनले देशलाई स्थायित्व दिएर बलियो बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेले संकल्प गरेको बताए । उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘देउवाले पनि प्रधानमन्त्री छाडेरै आउनुभएको हो । मैले पनि छाडेरै आएको हो । मैले दिँदा मान्नुभएन भन्नेको सुनेको थिएँ । त्यस्ताको साथ लिएर प्रधानमन्त्री चलाएर के गर्नु ? बन्छ देश ? हुँदै भनेर छाडेको हुँ । कांग्रेसले अफर गरेपछि बनेको हुँ । अब १७/१८ महिनापछि देउवाजी बन्नुहुन्छ । अहिले कांग्रेसबाट पूरा साथ पाएको छु, पछि हामी साथ दिन्छौं ।’