विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा फेरी सक्रिय हुने बताएकी छन् ।
इटहरीको जनतामावि विध्यालयकाे वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा नपुगेको बताइन् ।
आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ । उनले भनिन्, ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु । ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्यो भने त्यतिबेला निर्णय गर्नेछु ।’
दलीय राजनीतिमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
पूर्वराष्ट्रपति भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् । ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ । राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, उनले भनिन् ।
प्रतिक्रिया