विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् ।
नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिँडिरहेको टिप्पणी गरे ।
उनले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । उनले त्यसो भनिरहँदा उनीनिकट विराटनगर महनगरपालिकाका मेयर नागेश कोइराला मञ्चमै थिए। चुनाव जितेपछि कोइरालाले सिन्को नभाँचेको आरोप लाग्दै आएको छ ।
‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरू छन् । तर राजनीति गर्नु भनेको समाज सेवा गर्नु हो ।’ जनप्रतिनिधिहरू लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गरे ।
‘हतार-हतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उनले भने, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ। सजिलै पास हुन्थ्यो। संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’
नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए। प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया