काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताए ।
धेरैभन्दा धेरै पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउदै उनले दुई ठुला दलको एक संयन्त्र बनाएर काम अगाडि बढाउने दाबी गरे ।
१० वर्षे संविधान कार्यन्वयनको अवस्थामा आएका समस्याहरुलाई समीक्षा गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।
अर्को एक फरक प्रसङ्गमा ज्ञवालीले सहकारी प्रकरणमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाड्ने बताए । दोषीमा संंलग्न जो भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको बताए ।
वर्तमान सरकार देशमा चरम निराशालाई चिर्न राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताउँदै अस्थिरताको राजनीति गर्नेहरु छटपटाइरहेको उनको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।
अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो ।
उनले अमेरिकी सहयोग ९० दिनका लागि रोक्ने निर्णयको प्रभाव त्यति ठूलो नपरे पनि मातृ शिशु सहयोग र आप्रवासी निकालासम्बन्धी विषयले नेपाललाई प्रभाव पर्ने बताए ।
अमेरिका र चीनको व्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा नेपालले सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया