पाेखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ । न्यायाधीश मीलनकुमार राईको एकल इजलासले मंगलबार जिल्ला अदालत कास्कीबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
आफूलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले सोमबार उच्चमा निवेदन दर्ता गराएका थिए । जिल्ला अदालत कास्कीले २५ पुसमा सूर्यदर्शन प्रकरणमा गरेको धरौटी माग्ने आदेश बेरितको भएको उल्लेख गर्दै लामिछानेले साधारण तारेखमा पुर्पक्ष गर्न पाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा कैफियत प्रतिवेदन माग्ने आदेश भएको उल्लेख गरे ।
प्रतिक्रिया