प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालमा हानिकारक हुन्छ : माधव नेपाल

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालमा हानिकारक हुन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताएका छन् । मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा समाजवादी मोर्चाले गरेको विचार गोष्टीलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा नेपालले कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्नुपर्ने बताए । विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले तर्क राखे । तर एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उनले राखे ।

मोर्चामा रहेका तीन पार्टी(माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने उनको दाबी थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतले सम्बोधन गरेका छन् ।