गठबन्धन सरकार ०८४ काे मंसिरमा ढल्छ : प्रधानमन्त्री ओली

गठबन्धन सरकार ०८४ काे मंसिरमा ढल्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ०८४ काे मंसिरमा ढल्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउँदै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताए ।

अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए । प्रचण्डले पछिल्लो समयका भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।

उनले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताए ।

प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरुलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे ।

उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए ।

एमाले संददीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवाररुपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरुलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिए ।

उनले राष्ट्रिय एकता, हित, स्वाधिनता र सार्वभौमसत्ताका पक्षमा स्पष्टताका साथ सरकार प्रस्तुत हुने र जनताको सुशासनका पक्षमा नीतिगत स्पष्टता र व्यवहारिकरुपमा दृढताका साथ प्रस्तुत हुनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपाल दुबै छिमेकी मुलुकसँग साँच्चैको सन्तुलित, मित्रतापूर्ण, आशड्कारहित र पारस्परिक लाभका आधारमा सुदृढ गर्दै लाने र छिमेकीको विकासको लाभ लिने बताए । उनले नेपालले छिमेक सम्बन्धलाई विशेष प्राथमिकता दिने र अन्तर्राष्ट्रिय सम्बन्धलाई देखिने र सुनिने बनाउने पनि जनाए ।