अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने (कुन देशबाट कति ?)

अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने (कुन देशबाट कति ?)



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानअन्तर्गत १ हजार ३ सय जनाभन्दा धेरै नेपाली निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार ३ सय ६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीको सङ्ख्या सार्वजनिक गरेको हो ।

अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३ जना, मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन् । यस्तै चीनका ३७ हजार ९ सय ८ जना र भारतका १७ हजार ९ सय ४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा ३ लाख जनाभन्दा धेरै नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाख जनाले ग्रीनकार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् । २० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । ७ हजार ५ सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।

अमेरिकाको अध्यागमन र भन्सार प्रवर्द्धन कार्यालयले १ हजार ३ सय जनाभन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले १ करोड २० लाख जना अवैध आप्रवासी रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार जना अनधिकृत आप्रवासी छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् । ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा सङ्कटकाल घोषणासमेत गरिसक्नुभएको छ । सङ्कटकाल घोषणासँगै अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरेको छ ।

कुन देशबाट कति ?