माओवादी हामीलाई सिध्याउने षड्यन्त्रमा लाग्यो : बाबुराम भट्टराई

माओवादी हामीलाई सिध्याउने षड्यन्त्रमा लाग्यो : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले मुलुकका पुराना राजनीतिक दलहरूसँग पार्टीले एकता र सहकार्य नगर्ने बताएका छन् ।

बुधबार कीर्तिपुरमा पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै भट्टराईले पुराना दलहरू सुध्रने अवस्थामा नरहेको बताए ।

‘हामीले जुन वैकल्पित शक्ति निर्माण गरेका छौं त्यसमा केही बाँगोटिंगो भयो । हामीले बेइमानहरूसँग सहकार्य गरेर ठगिएका मात्र हौं,’ उनले भने, ‘हामीले अरु केही गल्ती गरेका होइनौं । हामीले सिद्धान्त र विचार छोडका होइनौं । खाली के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही काम बाँकी पनि छन् । राजावादीहरुले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन ।’

यस्तो बेलामा गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर पुराना दलहरूलाई साथ दिएको उनले बताए ।

‘तर हामीले एकता भनेका छैनौं । बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिलै भनेकै छैन, सहकार्य गरेको हो,’ उनले भने ।

मधेसवादी र क्षेत्रीय दलहरू समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरेको उनले बताए ।

‘माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको संकट तपाईंले देख्नुभएकै छ । जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ,’ उनले भने, ‘उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ तर उनीहरू हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे ।’

उनले पुरानाहरू सँगको सहकार्य सफल र उपयोगी नभएको पनि बताए । ‘यसबाट पाठ सिकेर पुराना सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो,’ उनले भने ।