सत्ताको नाउमा प्वाल पार्ने काम बन्द भए : प्रधानमन्त्री

सत्ताको नाउमा प्वाल पार्ने काम बन्द भए : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब सत्ताको खेल बन्द भएको बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भने, “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”

प्रधानमन्त्री ओलीले यो सरकारले थ्रुपै विकास निर्माणको कामहरु उपलब्धी हासिल गरेको बताए ।

उनले भने,‘ मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो । थालेका कामहरुलाई हामीले कहाँ पुर्‍याउँदै छौं भनेर यो सदनलाई भन्ने छु ।’

प्रधानमन्त्री ओलीले राजनीतिलाई निराशाको व्यवसाय बनाउनेहरूले समाज भड्काएको आरोप लगाएका छन् । उनले देशमा केही हुँदै गरेका विषयको ढाकछोप गरेर निराशा फैलाउनेले बन्दै गरेको नेपाल पनि देख्न छोडेको बताए ।

“निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्याभन्दा व्यवसायको बजार बनाउनेहरूका लागि यस्तो उपलब्धि मान्य भइरहेको छैन,” प्रधानमन्त्री ओलीले भने, “राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया र खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाल देख्न सक्छौँ ।”

उनले देशमा कुनै न कुनै संचना बनिरहेको र त्यसले सुविधाको ढोका खोलिरहेको बताए ।