पार्टी टुक्र्याउने, भत्काउने जस्ता खुद्रे कुराहरू सरकारको मेनुमा छैन : प्रधानमन्त्री ओली

पार्टी टुक्र्याउने, भत्काउने जस्ता खुद्रे कुराहरू सरकारको मेनुमा छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भत्काउनेजस्ता विषय सरकारको ‘मेनु’मा नभएको बताएका छन् । प्रतिनिधिसभाको हिउँदै अधिवेशनअन्तर्गत पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी विभाजन नगरिने भन्दै ढुक्क हुन आग्रह गरे ।

“पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरू यस सरकारको मेनुमा छैन । ढुक्क हुनुस्, कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन,” उनले भने ।

प्रधानमन्त्री ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले ठूलो योगदान गरेको बताएका छन् । उनले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रुपमा लिन पाएको बताए ।

नागरिक एपले ५० भन्दा बढी सेवा दिएको भन्दै उनले सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने पहिलो एप बनेको बताए । प्रधानमन्त्रीले ५७ लाख २६ हजार जनताले डाउन लोड गरिसकेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको टिप्पणी गरेका छन् । उनले बजारमा चर्चा पाएको ‘ढलेँ ढलेँ’ गीतजस्तै चर्चा गरिएको भन्दै कटाक्ष गरे । “ढलेँ ढलेँ भन्ने गीत प्रचारमा छ । आमरूपमा राजनीतिक नेताले गाएको सुन्छु– ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, पार्टीमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन,” ओलीले भने ।

उनले एक ‘माननीय’ले अश्लील भयो भन्ने टिप्पणी गरेको भन्दै सोधे, “यस्तो गीत के नक्कल गरि’रा होला ? यस्ता गायन राजनीतिका मञ्चमा गाउन बन्द गरे हुन्छ । सरकार ०८४ सम्म टसमस गर्नेवाला छैन ।”