काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हन् ।
भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए ।
‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ उनले भने, ‘अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ । यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’
सांसद भट्टराईले दुई जना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन् । उनले अरू सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल वा हस्ताक्षरकर्ता रहेको बताए ।
‘अध्यादेशको प्रक्रियाका बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने, प्रेम सुवाल र योगेन्द्र मण्डलले राख्नुहुन्छ। आजसम्म उहाँहरूको सरकारमा सहभागीता छैन,’ उनले भने, ‘त्यसभन्दा बाहेक कुनै पनि दल र कुनै पनि सांसदले अध्यादेशको प्रक्रियाबारे विमति राख्नु नौटंकी हो । किनभने हामी सबै त्यसमा कुन न कुनै बेला भाग लिएको र सही गरेका छौं ।’
सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश शुक्रबार संसदमा पेस हुँदैछ ।
प्रतिक्रिया