काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले चलनचल्तीमा आएका काण्डहरूबारे एक-एक गरेर छानबिन समिति गठनको माग पार्टीले गर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले भने, ‘भुटानीदेखि कम्बोडियासम्म, बालुवाटारदेखि गिरीबन्धुसम्मको छिनोफानो गर्नुपर्ने हुन्छ ।’
उनले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताए । लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरू भएको मुद्दा कहाँ पुर्याइयो भन्ने प्रश्नसमेत गरेका छन् ।
‘कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन तर आइसकेको रकम एउटा निजी कम्पनीमा आएपछि उनको जे दायित्व देखिन्छ मौजुदा कानुनअनुसार अघि बढाऊ भनेर संसदीय छानबिन समितिले भनेको छ,’ उनले भने, ‘सहकारी ठगी कसुरबाट सुरू भएको मुद्दा कहाँ पुर्याउनुभयो तपाईंहरूले ? संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा । अरूका लागि खनेको खाल्डोमा आफै पर्छु कि जस्तो सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’
उनले जाँचबुझ आयोग ऐन २०२६ अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी राजकीय पद धारण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए ।
“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,” उनले भने ।
सरकार सात महिनासम्म रवि लामिछानेमाथि खनिएको र ऐतिहासिक समय गुमाएको पनि उनले बताए ।
प्रतिक्रिया