माइतीघरमा स्वर्गद्वारी गुठीका मोही किसानको धर्ना

माइतीघरमा स्वर्गद्वारी गुठीका मोही किसानको धर्ना



काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । आइतबार बिहान उनीहरू गौशाला चोकदेखि र्‍याली गरी माइतीघर मण्डलमा पुगेर तीन बुँदे माग अघि सार्दै धर्ना बस्न थालेका हुन् ।

दाङको देउखुरीस्थित १२ मौजा (गाउँ)का पीडितहरू काठमाडौंमा धर्ना दिन आएका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।

उक्त गाउँको एक हजार ५० बिघा जमिन गुठी अन्तर्गत पर्छ । किसानले पुस्तौंदेखि खेतिपाती गर्दै आएको ती जग्गाको मोही आफूहरू रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा भएको पीडित मोही किसान संघर्ष समितिले जनाएको छ ।

यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए । सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ ।

उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानी बापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्न माग गरेका हुन् ।