काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले फरक-फरक सिद्धान्त बोकेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर खिचडी राजनीतिक गरिरहेको बताएका छन् । राष्ट्रिय सभामा आइतबार बोल्दै उनले फरक सिद्धान्त बोकेका पार्टीको खिचडी राजनीति बहिष्कार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘खिचडी राजनीतिक के हो भने कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी; दुइटाका सिद्धान्त फरक छन् । र कहिले चुनाव पनि सँगै गरेको छ, कहिले सरकार सँगै गरेको छ । जनताको बीचमा गएर त्यही भन्नुभएको हो ? यदि जनताका बीचमा फरक किसिमले गएका छौं भने निर्माण पनि फरक किसिमले गर्नुपर्छ । जनताले जाँच्न पाउनुपर्छ । माघेसंक्रान्तिमा खिचडी चाहिन्छ अरू बेला खिचडी राजनीति चाहिँदैन, यसलाई बहिष्कार गरौं ।’
सांसद गौतमले हरेक पार्टीले स्वतन्त्र ढंगले जनताका बीचमा जाने आफ्ना विचार राख्ने त्यो विचारका आधारमा संगठन निर्माण गरेर देखाउने ठाउँमा नेपाली राजनीति पुग्नुपर्ने बताए ।
केही समयदेखि अध्यादेशले राजनीतिक माहौल बनेकोप्रति टिप्पणी गर्दै उनले आफू अध्यादेश पक्षधर पनि नभएको र विपक्षमा पनि नलागेको बताए ।
उनले भने, ‘यसको सैद्धान्तिक पक्ष थाहा छ, अध्यादेश मुख्यतः राज्यसञ्चालन सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ । संविधान बमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने कुरामा कुनै बारबन्देज संविधानमा छैन । तर नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय पनि होइन । अध्यादेश जारी गर्दा प्रतिपक्षीलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ । तर यो सत्ताधारी, पक्ष–विपक्षमा रहेकाको व्यवहारमा भर पर्छ ।’
अहिले मुख्यतः राष्ट्रलाई लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद चाहिएको उनले बताए ।
तर यो दिशातिर कसैको ध्यान नगएको गौतमको भनाइ छ । ‘समाजवादको संरचना निर्माण गर्न सकिन्छ । समाजवाद निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्, यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्यु दण्डमा जान तयार छु,’ उनले भने, ‘सकिन्छ, सारा संसार त्यसैगरी गइरहेको छ। भोकै मर्ने स्थिति छैन कहीँ पनि ।’
पुँजीवादले समाजवाद निर्माण गर्ने उनको मान्यता छ । नेपालमा पुँजीवाद आएर समृद्ध भइसकेको विश्लेषण गर्दै सांसद गौतमले यहाँभन्दा अगाडि पुँजीवाद जान नसक्ने बताए ।
उनले भने, ‘यहाँबाट अगाडि जाने समाजवाद हो। तर हाम्रो देशको समाजवाद पुँजीवादसँग सँगै बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसँग सँगै बढ्ने हो, विकसित हुने हो । यो संरचना निर्माण गर्न सकिन्छ । समृद्ध समाजवाद निर्माण गर्न सकिन्छ । चाहिने संरचना, यावत विषयवस्तु, श्रम, ज्ञान विज्ञान र आवश्यक धन हामीसँगै छ । हामी आफै निर्माण गर्न सक्छौं । हामीसँग अहिले भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ छ । त्यो निकाल्न सकिन्छ। प्रयोग गर्न सकिन्छ। बाहिरबाट हामीलाई आधुनिक प्रविधि हामीलाई चाहिन्छ ।’
प्रतिक्रिया