काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् ।
पोखरामा ७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ । कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन । यो सरकारको स्थायित्व स्पष्ट छ। पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ । ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ । उहाँ लामो समय जेल बस्नुभएको हो ।’
उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।’
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्ला सभापतिहरू र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको हो ।
प्रतिक्रिया