ओलीले ढाँट छल र जालझेल गर्नुसम्म गरे : प्रचण्ड

ओलीले ढाँट छल र जालझेल गर्नुसम्म गरे : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जाली झेली र ढाँट छल अरु कसैले गर्न नसक्ने बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले ओली संविधान विपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

आफूले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले काँग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँट छल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईँहरूले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जाली झेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’

प्रचण्डले बाहिर काँग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरूले बनाएको आरोप लगाए । उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि काँग्रेस-एमालेका ठूला नेताहरू पर्ने देखेपछि रातारात मिलेको दाबी गरे ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको बताए ।

उनले भने, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’