काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी सरकारले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।
२०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।
यस्तै बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि आगामी २०८२ असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

प्रतिक्रिया