काठमाडौं । साविक विजेता न्युरोड टिम एनआरटी २५ औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अन्तिम क्वार्टरफाइनल खेलमा काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ को गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एनआरटीले आक्रामक खेल प्रदर्शन गर्यो । खेलको ४८ औँ मिनेटमा आशिष गुरुङको पासमा शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १२ मिनेटपछि सरोज घिसिङले टिमको दोस्रो गोल थपेका थिए ।
काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका लागि ६५ औँ मिनेटमा खमिर ग्लिसन लिम्बूको पासमा रोबर्ट खोङ्जङले एक गोल फर्काएका थिए । तर, खेलको ७९ औँ मिनेटमा एनआरटीका सुमित श्रेष्ठको पासमा रोहन खड्गीले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेबापत एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । उनले ट्रफीसहित नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतिक्रिया