काठमाडौं । नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । २१औं वार्षिकोत्सवमा कम्पनीले आज आयव्ययसहितको विवरण सार्वजनिक गरेको हो ।
कम्पनीको विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ को कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ रहेको छ । कुल आय र नाफा दुवै अघिल्लो आर्थिक वर्षको भन्दा घटेको हो । आफ्नो ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको कम्पनीले दाबी गरेको छ ।
पछिल्लो समयमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी घटेको असर उनीहरूको पूँजीगत खर्चमा देखिएको छ । सन् २००८ देखि २०१६ सम्मको अवधिमा कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले आम्दानीको झन्डै १० प्रतिशत मात्रै पूर्वाधारमा खर्च गरेको पाइन्छ ।
दूरसञ्चार विज्ञ विशाल उपाध्याय टेलिकम क्षेत्रमा पूँजीगत खर्चको माग बढे पनि आम्दानी नहुँदा खर्च नभएको बताउछन् । टेलिकम क्षेत्रको आम्दानीसँगै त्यस क्षेत्रबाट राज्यले पाउने राजश्व पनि घटेको छ । आर्थिक वर्षा २०७६/७७ मा नेपाल टेलिकम र एनसेलले गरी ६७ अर्ब ४८ करोड राजश्व बुझाएकामा आर्थिक वर्ष २०७९/८० मा २० अर्बले घटेर ४७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया