काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताएका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताएका हुन् ।
ट्रम्पले अमेरिकाले गाजाको ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गरेर त्यहाँँको आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गरेकाे बीबीसीले जनाएको छ । यसले गाजाका मानिसहरूलाई रोजगारी र बसोवासका लागि घर प्रदान गर्ने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि बताएका छन् । उनले गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजाभन्दा बाहिर स्थायी रूपमा बसोपास गर्न सुझाव पनि दिएका छन् ।
यसैबीच नेतान्याहूले ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भविष्यलाई नयाँ उचाइमा पुर्याउन पहल गरिरहनुभएको भन्दै खुशी व्यक्त गरेका हुन् ।
भविष्यमा गाजा इजरायलका लागि कहिल्यै खतरा नबनोस् भन्ने आफ्नो चाहना रहेको नेतान्याहूको भनाइ छ ।
प्रतिक्रिया