काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा संगठित अपराधमा मुद्दा नचलाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रविविरुद्ध संगठित अपराधमा उन्मुक्ति दिएको विषयमा छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको हो ।
नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।
समितिले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको अभियोजनबारे सत्यतथ्य पत्ता लगाएर महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउने कार्यादेश पाएको छ ।
रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको आरोप लागेका लुइँटेलको मंगलबार नै महान्यायाधिवक्ता कार्यालयमा सरुवा भइसकेको छ ।
प्रतिक्रिया