जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छ : कांग्रेस

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन् ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि उनले भने ‘जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ ।’

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी छ ।

उनले राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने दाबी गरेका छन् ।

संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेकाे भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए ।

सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा गृहमन्त्री रमेश लेखकसँग जसपा अध्यक्ष यादवले संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार भेटेका थिए । यसपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

कांग्रेस सभापति र प्रधानमन्त्रीलाई भेटेर यादव जसपा नेपालको संसदीय दल बैठकमा सहभागी भएका थिए ।

प्रतिनिधि सभामा कांग्रेस र एमालेमात्रैको पनि बहुमत छ तर राष्ट्रिय सभामा सत्तापक्षलाई बहुमत पुर्‍याउन ३ सांसद भएको जसपा नेपालको साथ चाहिन्छ ।