काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नै संसद छलेर हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद बोलाउनुभन्दा ६ दिनअघि किन ल्याइयो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक, एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । ३५ वर्ष शासन गरेपछि देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभएको हो ? ३५ वर्षसम्म त त्यो आवश्यकता देख्नुभएन । अहिले ६ दिनअघि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ?’
उनले सरकारले ल्याएको अध्यादेशको नियतमै सही नभएको बताए ।
अध्यक्ष प्रचण्डले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् ।
‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ उनले भने ।
प्रचण्डले प्रश्न गरे, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’
पाथिभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? भनेर प्रश्न गरे।
प्रचण्डले टिसर्टमा कसैको फोटो देखियो भनेर पनि नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुन्ने र मुद्दा चलाउउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोंच भएको जिकिर गरे ।
प्रतिक्रिया