शेरा दरबार र क्यान्टोनमेन्टमा आफूमाथि छानबिन गर्न प्रचण्डको चुनौती

शेरा दरबार र क्यान्टोनमेन्टमा आफूमाथि छानबिन गर्न प्रचण्डको चुनौती



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई जोड्न सकिन्छ कि भनेर प्रधानमन्त्री नै लागेको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पनि चासो रहेको सुनाए ।

“नुवाकोटको शेरा दरबारमा कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ कि ! जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गर्‍यो,” उनको दाबी छ, “प्रधानमन्त्रीजी आफैँ लागेको थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त !”

उनले सबै नेता उस्तै हुन् भन्ने भाषा मञ्जुर नभएको बताए । शेरा दरबारमा आफू जोडिए छानबिन गर्न उनले चुनौती दिए ।

“शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका कुरा भन्दै प्रचण्डले सुनाए, ‘प्रचण्ड र रविहरूको सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउनुपर्‍यो । प्रधानमन्त्रीजीको भनाइ हो यो । मैले भनेको छैन, प्रधानमन्त्रीले नै भनिदिएपछि विषय प्रष्ट भयो ।’

आफू नेतृत्वको सरकार ढलेपछि जनताहरू विभिन्न विषयमा प्रष्ट रहेको उनको भनाइ छ ।

‘मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन त्रिभुवन विश्वविद्यालयको जग्गा । अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिने छैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण। त्यही भयो । त्यही विन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरू भयो,’ अध्यक्ष प्रचण्डले भने ।

सरकार सामाजिक सञ्जालसँग डराएको पनि उनले बताए ।

‘ऊ आफ्ना श्रृंखलाबद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन । पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन, त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो । सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन तर जनताको मन बिझाउने सयौं काम गर्यो । अहिले त्यता विस्तृतमा जाने समय छैन । मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरू गरेको थियो । त्यसले जनतामा लोकतन्त्रप्रति भरोसा जगाएको थियो । जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै कांग्रेस एमालेका लागि सबैभन्दा ठूलो आतंक भयो र तपाइँहरू रातारात एक ठाउँमा उभिनुभयो,’ उनले भने ।