चितवनमा रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियो, केही बेरमा आदेश आउने

चितवनमा रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियो, केही बेरमा आदेश आउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजै थुनछेक आदेश आउने भएको छ । केही बेरपछि आदेश आउने जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

सहकारी ठगीसम्वन्धी मुद्दामा दुई दिनमै थुनछेक बहस सकिएको हो । अहिले न्यायाधीस आदेश लेख्न बसिसकेका छन् ।

न्यायाधीशले पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आजै सुनाउनेछन् ।

थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताहरू रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदी तथा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू गोपीलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरे ।

यस्तै, लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा. नारायणदत्त कँडेलले बहस गरे ।