उपेन्द्रको पार्टीलाई मधेशको मुख्यमन्त्री दिन कांग्रेस-एमाले तयार

उपेन्द्रको पार्टीलाई मधेशको मुख्यमन्त्री दिन कांग्रेस-एमाले तयार


ग्लोब नेपाल
3.8k
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी (जसपा) लाई मधेस प्रदेशको मुख्यमन्त्री दिन काँग्रेस र एमाले तयार भएका छन् ।अध्यादेश पारित गर्न सघाउने सर्तमा मधेसको मुख्यमन्त्री दिन कांग्रेस–एमाले सहमत भएका हुन् ।

अध्यक्ष यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संवाद गरेका थिए । जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको थियो ।

कार्यदलले भूमिसम्बन्धीबाहेक अन्य ५ अध्यादेशमा समर्थन गर्न सकिने सुझाजसहित प्रतिवेदन तयार पारेको छ । काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुने बताए । जसपाले मधेसको मुख्यमन्त्री मागेको उनको भनाइ थियो ।

मधेस प्रदेशको किचलोका कारणसमेत कांग्रेसले जसपालाई मधेस प्रदेश सरकारको नेतृत्व दिन तयार छ तर संघीय सरकारमा मन्त्रालय दिन कांग्रेसले अस्वीकार गर्दै आएको छ ।

सत्तारूढ कांग्रेस, एमाले, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहितका दल अध्यादेश पारित गर्ने पक्षमा छन् । तर, सरकारलाई समर्थन गरेको उपेन्द्र नेतृत्वको जसपा निर्णयमा पुगिसकेको छैन ।

जसपाबाट निर्णय नआएकाले संसदमा आज निर्णायर्थ पेस हुने भनिएको अध्यायदेश संसदको नियमित कार्यसूचिबाट हटेको कानुनमन्त्री अजय चौरासियाले जानकारी दिए ।