सिकेको तेजोबोध गर्न उपेन्द्रलाई चाहियो मधेश सरकार

सिकेको तेजोबोध गर्न उपेन्द्रलाई चाहियो मधेश सरकार



काठमाडौं । राष्ट्रियसभामा ३ सांसद रहेको उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यायदेश पास गर्न निर्णायक दल बनेको छ । यो अवसरलाई भरपूर सदुपयोग गर्न जसपा नेपाल सरकारसँग बार्गेनिङमा जुटेको छ । यो आलेख तयार पार्दासम्म जसपा नेपालले सरकारको अध्यायदेशलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन ।

दुई मन्त्रालय र मधेश प्रदेश सरकार मागबाट सुरु भएको जसपाको बार्गेनिङ बिहीबार बिहानबाट मधेश प्रदेश सरकारको नेतृत्वमा अडिएको छ । मधेश प्रदेश सरकारको नेतृत्व जिम्मा लगाउन सत्ता गठबन्धन तयार छ, यद्यपि औपचारिक निर्णय भइसकेको छैन । मन्त्रालयलाई बार्गेनिङ छोडेर जसपालाई मधेश प्रदेशको नेतृत्व किन चाहियो भन्ने प्रश्न निक्कै गम्भीर रहेको बताइएको छ ।

भनिन्छ, ‘राजनीतिमा स्थायी शत्रु कोही हुँदैन ।’ तर मधेश प्रदेशका नेताहरुको हकमा यो सर्वमान्य सिद्धान्त लागू हुँदैन । परम्परागत राजनीतिक शक्तिलाई नयाँ शक्तिले धावा बोलेपछि उत्पन्न परिणामले मधेशको राजनीति प्रतिशोधमा बद्लिएको हो । अर्थात् उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाललाई सिके राउतको जनमत पार्टीले चुनौति दिएपछि द्वन्द्व सुरु भएको हो ।

१०७ सदस्यीय मधेश प्रदेश संसदमा जसपा नेपाल तेस्रो ठूलो दल हो । उसँग १९ सांसद छन् । मधेशमा त्यसपछि जनमत चौथो ठूलो राजनीतिक दल हो, उसँग १३ सांसद छन् र उसैले अहिले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सबैभन्दा ठूलो दल एमाले (२५) र दोस्रोमा नेपाली कांग्रेस (२२) सांसद छन् ।

महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रसँग ९–९ सांसद छन् । माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीसँग ७ र संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ सांसद छन् ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टी प्रतिपक्षी दलसँग पनि नमिलेको र सत्तामा पनि छैन । जनता समाजवादी पार्टी फुटाउन भूमिका खेलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग उपेन्द्र यादवको पानी बाराबारजस्तै छ । माधव नेपालसँग हाइहेल्लोको औपचारिकताबाहेक समाजवादी मोर्चामा उपेन्द्र यादव जर्बजस्ती टाँसिएका मात्र हुन् ।

मधेशमा उपेन्द्र र सिके राउतको प्रतिशोधको राजनीति उच्च तहमा पुगेको छ । यी दुई दलका नेताहरुबीच शित युद्ध मात्र हुँदैन, भौतिक आक्रमणसमेत हुने गरेको छ । सप्तरी निर्वाचन क्षेत्रमा मात्र होइन, मधेशका हरेक निर्वाचन क्षेत्रमा जसपा नेपाल र जनमतको द्वन्द्वले चरम रुप लिएको छ । गतसाता सर्लाहीको निर्वाचन क्षेत्र नं. १ मा जसपा नेपालको संगठन निल बनेको छ । वडादेखि क्षेत्रीय अध्यक्षसमेतलाई राजीनामा दिन लगाएर शुन्य बनाएको हो । मधेशमा यस्ता उदाहरण धेरै छन् ।

प्रदेश सरकारमा जनमत पार्टीले सत्ताको दम्भ देखाएर यस्ता अराजनीतिक गतविधिहरु तीब्र बनाएको विश्लेषण जसपा नेपालले गरेको छ । यस्ता गतिविधि नरोक्ने हो भने ०८४ सम्म मधेशमा ठूलै राजनीतिक उथलपुथल हुनसक्ने ठम्मयाइ जसपाको छ । यदि सत्ताबाट जनमतलाई बाहिर धकेल्न सकियो भने ठूलै राजनीतिक लाभ लिन सकिने ठहर जसपा नेपालले गरेको छ । त्यसैले संघीय मन्त्रालयभन्दा राजनीतिक आभारभूमि मधेशमा जसपा बलियो हुन चाहन्छ ।