एनआरटीलाई हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा

एनआरटीलाई हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा



पोखरा । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६-५ ले बाजीमा मारेको हो ।

निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच बने । चर्च ब्वाइजले अब विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

खेलको २५औं मिनेटमा एनआरटीका रिचर्ड विल्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ६३औं मिनेटमा चर्चब्वाइजका नवीन लामाले गोल फर्काउँदै खेललाई सहज स्थितिमा ल्याए । चर्चब्वाइजले पाएको पेनाल्टीमा लामाले कुनै गल्ती गरेनन् र अवसरलाई गोलमा परिणत गरे ।