हिंसालाई जनयुद्ध दिवस भन्न रूचाउनेहरू पनि छन् : प्रधानमन्त्री ओली

हिंसालाई जनयुद्ध दिवस भन्न रूचाउनेहरू पनि छन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको फेरि दोहोर्‍याएका छन् । सिंहदरबारमा आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले सो कुरा दोहोर्‍याएका हुन् ।

प्रजातन्त्र दिवसकाे सन्दर्भमा आयाेजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे । उनले भने,“यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।”

प्रजातन्त्र दिवसमा यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गरेका थिए ।

‘यो दिवसलाई केवल हमाथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन। यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउन्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।