काठमाडौं । श्रीलंकासँगको दुई खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा अस्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई ९ विकेटले हरायो ।
श्रीलंकाले दिएको ७५ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयअघि १ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका उस्मान ख्वाजाले २७, मार्नस लाबुशेनले २३ रन बनाए । श्रीलंकाका प्रभात जयसूर्याले १ विकेट लिए ।
दोस्रो पारीमा श्रीलंका २ सय ३१ रनमा अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलंकाका एन्जेलो म्याथ्युजले ७६, कुसल मेन्डिसले ५० रन बनाए । अस्ट्रेलियाका म्याथ्यु कुन्हेमान र नाथन लायनले ४/४ विकेट लिए ।
यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा कुसल मेन्डिसको नटआउट ८५, दिनेश चन्डिमलको ७४ रनको मद्दतमा २ सय ५७ रन बनायो । अस्ट्रेलियाका मिचेल स्टार्क, म्याथ्यु कुन्हेमान र नाथन लायनले ३/३ विकेट लिए ।
अस्ट्रेलियाले पहिलो पारीमा एलेक्स केरीको १ सय ५६ र कप्तान स्टिभ स्मिथको १ सय ३१ रनको मद्दतमा ४ सय १४ रन बनायो । श्रीलंकाका प्रभात जयसूर्याले ५ विकेट लिए ।
पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक पारी र २ सय ४२ रनले जितेको थियो ।
प्रतिक्रिया