नागार्जुनका मेयर बस्नेतविरूद्ध फेरी भ्रष्टाचार मुद्दा दर्ता

नागार्जुनका मेयर बस्नेतविरूद्ध फेरी भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा फेरी मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको हाे ।

मेयर बस्नेतले पदमा रहँदा आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ ।

उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने सूचनाको आधारमा अख्तियारले अनुसन्धान गर्दा विभिन्न ठाउँमा गरेको खर्च र लगानी कुल २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ थियो । त्यस्तै १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन भएको देखिएको हो ।

कुल खर्च तथा लगानी र आयआर्जन घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ । उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

त्यस्तै उनले झुट्टा विवरण दिएको भन्दै एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ ।

नगर प्रमुख सार्वजनिक पदमा बसेर कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार थप तीन वर्षसम्म कैद सजाय माग गरेको छ । दफा ४७ अनुसार सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

अख्तियारले यसअघि पनि पुस १४ गते मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको छ । यसअघि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको थियो ।

मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दा लागेपछि उनी निलम्बनमा छन् ।