कांग्रेस एमालेको गठबन्धन सत्ताका लागि बनेको हो : प्रचण्ड

कांग्रेस एमालेको गठबन्धन सत्ताका लागि बनेको हो : प्रचण्ड



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ठुला दुई दलको प्राथमिकता सत्ता नै भएको बताएका हुन् ।

‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन । ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो’, उनले भने ।

कांग्रेस र एमालेले संविधानको अभिन्न अङ्ग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए । संविधान संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने धारणा राखे । अब पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुनै नसक्ने उनले जिकिर गरे ।