अध्यादेश राष्ट्रिय सभाबाट पारित हुँदैन : प्रचण्ड

अध्यादेश राष्ट्रिय सभाबाट पारित हुँदैन : प्रचण्ड



जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित नहुने बताएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताको लागि आफ्नो सिद्धान्त छाडेर छानेजस्तो नलागेको बताए ।

उनले भने, ‘विधि र प्रक्रियासँग सम्बन्धित बिषयमा उहाँहरू अहिलेसम्म उडिनुभएको छ । उहाँहरू आफ्नो मुद्दा छाडेर खाली सत्ताको लागि जानुहुन्छ जस्तो लाग्दैन । उहाँहरूले निर्णय गर्न बाँकी छ । केन्द्रीय समिति बैठक बोलाउनुभएको थियो । रोकिएको छ । उहाँहरूले आफ्नो अडान छाड्नुभएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’

उनले सरकारले गलत नियतले अध्यादेश ल्याएकाले राष्ट्रियसभामा रोकिएको दाबी गरे ।

प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने बताए । ‘नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन ।’

प्रचण्डले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरु अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए ।

‘अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, प्रचण्डले भने, ‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ ।’

प्रचण्डले अगाडि भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा उनीहरुको अलिअलि उनीहरुको कल्चर सर्‍याजस्तो भा’छ । हामी अलिकति नुहाइधुवाइ गरेर जनतासँग फेरि जानुपर्‍यो भन्ने छ । हामीलाई सरकारमा अहिले ध्यान छैन ।’

अध्यक्ष प्रचण्डले ओलीले संविधान नै खारेज गर्न चाहेको बताए । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’

उनले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।

उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।