अबको पार्टी सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता

अबको पार्टी सभापति र प्रधानमन्त्री शेखर कोइराला : सुजाता



काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको प्रधानमन्त्री र पार्टी सभापतिमा डा. शेखर कोइराला हुनुपर्ने बताएकी छन् । सोमबार जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने दाबी गरेकी हुन् ।

कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्‍याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने बताइन् ।

सुजाताले भनिन्, “कांग्रेसलाई यो अवस्थामा पुर्‍याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन । अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।”

उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् । “देशमा प्रजातन्त्र एकदम कमजोर भएको छ । यो देश कांग्रेसले हाँकेको छैन, ओलीजीले लिड गरिराख्नुभएको छ । शेरबहादुरजी स्याडो (छाया)मा हुनुहुन्छ । उहाँ (देउवा) दिनभर केमा भुलिरहनुभएको छ मैले बुझ्न सकेको छैन,” उनले भनिन्, “विकास निर्माणका केही काम भइरहेका छन्, तर त्यसको श्रेय ओलीजीले एक्लै लिइराख्नुभएको छ ।”