पाथीभरा केबलकारको विरोधमा थप आन्दोलनको कार्यक्रम घोषणा

पाथीभरा केबलकारको विरोधमा थप आन्दोलनको कार्यक्रम घोषणा


ग्लोब नेपाल
405
Shares

काठमाडौ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको उनीहरुले बताएका छन् । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको । निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन् ।

२२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको थियो ।

उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनुपरेको उनीहरुको दाबी छ । पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए ।