काठमाडौं । विश्वको भ्रष्टाचार सूचकांकमा नेपालले एक स्थान प्रगति गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार १८० देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ प्रतिवेदनमा नेपाल १०७औं स्थानमा छ ।
नेपाल विश्वकै कम भ्रष्टाचार हुने राष्ट्रमा १०७औं नम्बरमा पर्न सफल भएको छ । अघिल्लो वर्षको सूचीमा नेपाल १०८औं स्थानमा थियो ।
यो वर्षको सूचीमा नेपालले एक स्थान प्रगति गरेको भए पनि प्राप्त नम्बर घटेको छ । गत वर्ष नेपालले कुल अंक ३५ पाएको । यो वर्षको सूचीमा नेपालले ३४ अंक प्राप्त गरेको छ ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत छ । दक्षिण सुडान आठ अंक प्राप्त गरी यो वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा अंकित छ । सूचकांकमा १०० ले ‘अति स्वच्छ’ र ० अंकले ‘अति भ्रष्ट’ जनाउँछ ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
दक्षिण एसियाली राष्ट्रमध्ये भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले४३ अंक प्राप्त गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष विश्वव्यापी रूपमा भ्रष्टाचार अवधारणा सूचकाङ्क (Corruption Perception Index (CPI) सार्वजनिक गर्दै आएको छ ।
सीपीआईलाई विश्वभरनै भ्रष्टाचारको मात्रा मापन गर्ने प्रमुख सूचकको रूपमा लिने गरिएको छ ।
प्रतिक्रिया