काठमाडौं । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगन गरेका हुन् ।
सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले शून्य समय सकिएर विशेष समय सुरु भइसकेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । उनले बोलिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कुन नियमअन्तर्गत बोल्न दिइयो ? भन्दै आपत्ति जनाए । उनले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरे । त्यसपछि रास्वपा र नेकपा (माओवादी केन्द्र)का सांसदले आफ्नो आसनमा उभिएर विरोध गरे ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठक नियमानुसार नचलेको भन्दै आपत्ति जनाए । प्रतिपक्ष सांसदले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरिरहे ।
त्यसपछि सभामुख देवराज घिमिरे के भएको हो अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिइएको भन्दै अघि बढ्न खोजेका थिए । तर, रास्वपाका सांसदले बोल्न समय मागेपछि उनले बैठक स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले १५ मिनेका लागि स्थगित गरेकाे प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया