अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा

अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता शर्माले अध्यादेश छिटो छलफलमा ल्याउनुपर्ने बताए ।

शर्माले भने, ‘मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन । आज अध्यादेश कहाँ अड्किरहेका छन् ? एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ? त्यसलाई छिटो छलफलमा ल्याउनुपर्‍यो ।’

उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए । संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।

संसदमा हुने छलफल र बहसले समाजमा के रूपान्तरण भइरहेको छ भनेर बहस गर्नुपर्ने बेला भएको बताए । ‘तथ्य र परिणाम लुक्दैन । जनताले हेर्ने परिणाम हो । आग्रह पूर्वाग्रहपूर्ण संसदको बहसलाई बनाउनु हुँदैन । बहस अन्तैअन्तै गइरहेका छन्’, उनले भने, ‘सरकार ढल्यो ढल्यो.. वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन’, शर्माले भने, ‘जनजीविकाका सवालमा सरकारले के गर्छ ?चासो जनतालाई यो छ’, उनले जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने ? भनेर बहस गर्नुपर्ने बताए । रोगी र बिरामीहरूलाई कसरी उपचार सेवा दिन सकिन्छ भनेर र शिक्षाको सुधारको बहस हुनुपर्ने शर्माको जोड छ ।

‘हामी यो छलफल नगरेर एकले अर्कोलाई दोषी करार गर्नेतिर भयो । भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ’, शर्माको चुनौती छ ।

उनले देशमा रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने, बाझो जमिन प्रयोगको नीति बनाएर उत्पादनमा बदल्नेजस्ता विषयमा बदलेर बरालिएको राजनीतिलाई सही दिशामा ल्याउनुपर्ने पनि बताए । ‘यहाँ सत्ता, बहुमत र दुई तिहाइको बलमा होइन, अध्यादेशकै सवालमा लेनदेन हुन्छ कि भन्ने प्रश्न उठिरहेको छ’, शर्माले भने, ‘यसको जवाफ लोकतान्त्रिक तरिकाले दिनुपर्छ ।’