सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : शंकर पोखरेल

सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाललाई मर्यादित बनाउन सके धेरै अपराधहरु कम हुने उनले बताए । तथ्य र सत्यका पक्षमा किन कोही वोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफै अघि सरेर सत्य र तथ्य लेखेमा आफै बलियो हुने धारणा राखे ।

उनले लेखेका छन्, “आफू सत्य र तथ्यमा प्रस्तुत हुँदा अरुलाई पनि सत्यमा अघि सर्न प्रेरित गर्दछ । सामाजिक सञ्जाल आफैमा राजमार्गजस्तै हो । यसले सूचना प्रवाहका लागि पुलको रुपमा काम गर्छ ।”

सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराव मान्छेहरु देखिने महासचिव पोखरेलको भनाइ छ । “सामाजिक सञ्जालमा असल मानिसहरु सक्रिय भएमा अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ” उनले भने ।