जनयुद्ध मेटाउन प्रयास गर्नेहरु खरानी हुन्छन्ः प्रचण्ड

जनयुद्ध मेटाउन प्रयास गर्नेहरु खरानी हुन्छन्ः प्रचण्ड


ग्लोब नेपाल
297
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’, उनले भने, ‘यसले आज मात्र होइन । सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन । जसले मेटाउने प्रयास गर्छ, उ, खरानी हुनेछ ।’

जनयुद्ध दिवस राष्ट्रिय दिवस भएको उल्लेख गर्दै प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो’ प्रचण्डले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’

जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए ।

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं । आज त्यही स्थिति बनेको छ’, ‘ प्रचण्डले भने, ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् । तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’

विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको दाबी गरे ।

आफ्नो वर्ग र समुदायतर्फ फर्कंदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताए ।

प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरे ।

क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरे ।

राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उनले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ संकल्प गर्ने बेला आएको बताए ।

‘जनताको घर आँगनमा उज्यालो ल्याउने संकल्प आजको मुख्य कार्यभार बनेको छ’, उनले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’