काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफूलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका शीर्ष नेताहरूसँग बूढानीलकण्ठ निवासमा छलफल गरेका छन्। यो बैठकले १४ औं महाधिवेशनसम्मको देउवा टिम एकजुट रहेको देखाएको छ ।
छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति विजय गच्छदार, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाण, उमाकान्त चौधरी र एनपी साउद सहभागी थिए।
एकतामा जोड
बैठकमा आगामी महाधिवेशन र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको नेताहरूले बताएका छन्। सभापति देउवाले महाधिवेशनलाई मजबुत बनाउन तयारी थाल्न निर्देशन दिँदै पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘यो टिम एक भएर अगाडि बढ्नुपर्छ। पार्टीलाई अहिले यही आवश्यकता छ। महाधिवेशनको तयारीलाई सशक्त बनाउन ध्यान दिनुहोस्।’
पार्टीको विरासत जोगाउन आग्रह
देउवाले नेताहरूलाई पार्टीको राजनीतिक मूल्यमान्यता र विरासतलाई नबिर्सिन आग्रह गर्दै, इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिए। ‘कार्यकर्ताबीच एकता कायम राख्न तपाईंहरू एक हुनुपर्छ। पार्टीको सिद्धान्त, मूल्य र इतिहासलाई बिर्सिनुहुँदैन’, उनले भने।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल
छलफलपछि नेता गोपालमान श्रेष्ठले देउवालाई दुईपटक सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरूबीचको बैठक भएको जानकारी दिए। ‘हामी १०औं महाधिवेशनदेखि सँगै रहेका साथीहरू मिलेर पार्टीको आन्तरिक राजनीति र समसामयिक घटनाक्रमबारे छलफल गरेका हौं। यस्ता बैठकलाई निरन्तरता दिइनेछ,’ उनले भने।


प्रतिक्रिया