काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले संसदमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख देबराज घिमिरेले चासाे राखेका छन् ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सांसद गौतमले माघ २७ गते पारित भइसकेको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । तर, सभामुखले विधेयक पारित भइसकेका अवस्थामा सोही बिषय आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
सो विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सकिने सभामुख घिमिरेले जानकारी दिएका थिए ।
तर, फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सांसद श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएकी थिइन । तर सभामुख घिमिरे आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेपछि उनी आएको दावी सभामुखको सचिवालयको छ ।
‘जनाउ घण्टी सुरु भइसकेकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (सांसद अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो,’ सभामुख घिमिरेको प्रेस संयोजकले भने ।
सभामुखले सो जानकारी दिँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए र दलीय अनुरोध पनि आएको अवस्था थिएन ।
‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो, त्यो पनि अभ्यास छ तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट दबाब सिर्जना गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो’ सभामुखको सचिवालयले भनेको छ ।
खासमा सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि औसत २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा रहेका हुन्छन्, तीमध्ये सबैले समय पाउँदैनन् । ‘समय पाउने ८ देखि १० जनाले हो, आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ,’ सभामुखको सचिवालयले स्पष्टिकरण दिदैँ भनेको छ ।
हिजोको संसदमा सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकस्थल छाडेर हिडेको र बाहिर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टिकरण दिएको हो ।
प्रतिक्रिया